वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय अन्तराष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने भएको छ ।

यस दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ। यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने छ र यसन् दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा उक्त दिन अझ महत्वपूर्ण रहने छ।
कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थी सहुलियत टिकटका लागि एक हजार रुपैया, प्रारम्भिक दर्ता गर्नेको लागि एक हजार दुई सय रुपैया र अन्य सहभागीहरुको लागि दुई हजार रुपैया शुल्क तोकिएको छ। यस रकममा सहभागिका लागि निःशुल्क प्रशिक्षण सँगै कार्यक्रम अवधिभर नास्ता, खाना, खाजा र टि–सर्ट साथै स्वागहरुको व्यवस्था गरिने छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि ३८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । एक हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचनाप्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिनेछ ।
स्मरण रहोस्, वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । नेपालको विभिन्न सहरहरु काठमाण्डौं, चितवन, पोखरा, विराटनगर र वुटवल मा विभिन्न वर्डक्याम्प सम्पन्न भइसकेका छन् । वर्डक्याम्प नेपाल ’bout थप जानकारीका लागि https://nepal.wordcamp.org/ मा पनि हेर्न सकिनेछ।
यो पोस्ट सम्पादन गर्न सहयोग गर्नु भएकोमा pitamsen लाई धेरै धेरै धन्यवाद।